आलुले भेटेका लिम्बू र याङमालीहरू

Uncategorized

दिलविक्रम आङदेम्बे  वलुङ नेपालको हिमाली भेगमा बस्ने जनजाति समुदाय हुन्। उनीहरूको मुख्य बसोवास ताप्लेजुङको ओलाङचुङगोला, याङमा, घुन्सा, लुङथुङ र लेलेपलगायत गाउँ हो।अहिले यी गाउँलाई समेटेर फक्ताङलुङ गाउँपालिका बनाइएको छ। यस वर्ष ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वलुङहरूको पार्श्वचित्र तयार गर्न मलाई जिम्मा दियो। त्यसैको सम्झौता गर्न गत माघमा डोल्पाका साथी जगबहादुर बुढा र म फक्ताङलुङ गाउँपालिकाको कार्यालय तापेथोक पुगेका थियौं।कार्यालयको काम सकेपछि हामीले वलुङ बस्ती लेलेप, लुङथुङ र ओलाङचुङगोला हुँदै सिङ्जेमा तालसम्म पुगेर फर्कने सोच बनायौँ। सिङ्जेमा ताल ओलाङचुङगोला नजिकै पर्ने अत्यन्तै सुन्दर ताल हो। तर यसको चर्चा खासै भएको छैन।

तापेथोकबाट अपरान्ह ३ बजे हामी बाटो लाग्यौँ। साँझमा लेलेप पुग्यौँ। त्यहाँ जुङदाक नामको एउटा होटेल भेटियो। नुप्पु जुङदाक भोटियाले होटेल थापेकाले जुङदाक हाटेल भनिएको रहेछ। हामी त्यहीँ बास बस्यौँ।लेलेप गाउँमा झुरुप्प परेको एउटा ठूलो भोटिया बस्ती छ। स्थानीयबासीले भने अनुसार त्यहाँका मानिस अघि सोलखुम्बुबाट आएका हुन् रे। पहिले–पहिले उनीहरूलाई शेर्पा भनिन्थ्यो रे। नेपाली नागरिता पनि शेर्पा भएरै निकालेका रहेछन्। तर अहिले आफ्नै जातीय पहिचान खोज्दै वलुङ जाति बन्ने प्रकृयामा लागेका रहेछन्।

लेलेप गाउँमा विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, कन्चनजङ्घा संरक्षण क्षेत्र (केःक्याप) को कार्यालयलगायत छ। त्यहाँका कर्मचारीहरू साँझतिर जुङदाक होटलमै भेला हुँदा रहेछन्। हामी पुग्दा पनि केही प्रहरी र शिक्षकहरू त्यहाँ थिए। उकालो हिँडाइले निकै थकान भएको महसुस भयो। होटलकी साहुनी आजी कान्छीलाई तोङवा र बुंगुरको मासुको भुट्न लगायौं। खायौं। अनि आराम गर्‍यौं।भोलिपल्ट बिहान आठ बजे लेलेपबाट फेरि बाटो लाग्यौँ। दिनभरि हिँडेपछि अपरान्ह पाँच बजे हामी इलाफेदी पुग्यौँ। त्यहाँ ढाकरमा आलु बोकेका तीन जना लिम्बुहरू भेटिए। उनीहरूमाथि चेनेबाट आउँदै रहेछन्। उनीहरूले आफ्नो घर तल इखाबु बताए। ती लिम्बुहरूले भनेअनुसार तमोर खोलाका लिम्बुहरू प्रत्येक साल हिँउदमा कोदो लिएर माथि चेने पुग्छन रे।

याङ्मालीहरू त्यहाँ आलु लिएर बसेका हुन्छन रे। अनि त्यो आलु उनीहरूले कोदोसँग साटेर यता ल्याउने रहेछन्। यसपालि पनि सात घर याङ्मालीहरू त्यहाँ आएर बसेका रहेछन्। आज उनीहरू त्यहीँ पुगेर फर्केको बताए। उनीहरूको यस्तो कुरा सुनेपछि म दोधारमा परेँ। के अहिलको यो पुँजीवादी दुनियाँमा पनि ताप्लेजुङमा अझै यस्तै वस्तु विनिमय प्रथा छ? अथवा कोदोले आलु साट्ने प्रचलन अहिले पनि छ? हुन त ताप्लेजुङको तमोर खोला क्षेत्रलाई अझै पनि दुर्गम ठाउँका रूपमा हेर्ने गरिन्छ।बजारको प्रभाव त्यहाँ कमै परेको होला! याङ्मा त झनै विकट ठाउँमा पर्दछ। त्यहाँ बजारै छैन होला। मानवशास्त्री मार्शल मउसले भनेअनुसार जुन ठाउँमा बजारको पहुँच छैन त्यहाँ मानिसले वस्तु अथवा उपहार आदानप्रदान गरेर जीवन निर्वाह गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *